रुकुम पश्चिम, २४ वैशाख । रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा गएराति नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा दुई जना प्रहरीसहित दुवैतर्फका गरी दश जना घाइते भएका छन् ।
अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट नगरपालिका-३ खदिमा दुई पक्षका कार्यकर्ताबीच झडप नियन्त्रणको क्रममा दुई जना प्रहरी घाइते भएका छन् । प्रहरी जवानद्वय बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दोहोरो झडपमा परेर माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार भएका केशरमान पिक, त्यही गाउँका तुलबहादुर विक र सन्तोष विक घाइते भएका छन् । केशरमानको मुखमा, तुलबहादुरको खुट्टामा र सन्तोषको छातीमा चोट लागेको छ ।
त्यसैगरी नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् । आठबिसकोट-३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते भएका प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई सामान्य चोट लागेको बताइएको छ । दुवै पक्षका घाइतेहरुको स्थानीय मेडिकलमा उपचार गरिएको र अहिले अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी शुक्रवार राति नै चौरजहारीमा पनि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १ घारीगाउँमा भएको झडपका क्रममा माओवादी कार्यकर्ताको आक्रमणमा परेर नेपाली कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन् । वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते भएका छन् ।
घाइते विष्ट र विकको टाउकोमा गम्भीर चोट लागेको कारण थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ । गिरीको भने चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।