काठमाडौँ, २२ फागुन । नेपालको सशस्त्र द्वन्द्वसँग जोडिएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई “पक्राउ गरी अनुसन्धान अघि बढाउन” माग गरिएका रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएपछि उनको दल नेकपा माओवादी केन्द्रले त्यसप्रति आपत्ति जनाएको छ ।
प्रचण्डविरुद्ध त्यस्तो रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले शुक्रवार आदेश दिएपछि त्यसबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका बेला माओवादीले आफ्नो असहमति सार्वजनिक गरेको हो ।
आइतवार माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले वक्तव्य जारी गर्दै शुक्रवारको आदेशप्रति आफ्नो दलको “गम्भीर ध्यानाकर्षण भएको” जनाएका छन् ।
गत शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले अदालत प्रशासनले गत कात्तिकमा दरपीठ गरिदिएका दुई वटा निवेदनहरूको दरपीठ बदर गरिदिएको थियो । ती निवेदनहरू सशस्त्र द्वन्द्वका क्रममा माओवादीका तर्फबाट मारिएका व्यक्तिहरू र प्रचण्डले तीन वर्षअघि राजधानी काठमाडौँमा दिएको एउटा अभिव्यक्तिसँग जोडिएका छन् ।
गत कात्तिकमा अधिवक्ता ज्ञानेन्द्र आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दिएका दिए । त्यसलाई सर्वोच्च आदालत प्रशासनले “संक्रमणकालीन न्याय संयन्त्रले हेर्नुपर्ने” भन्दै दरपीठ गरिदिएको थियो ।
उक्त दरपीठविरुद्ध उनीहरूले पुन: सर्वोच्चमा निवेदन दिएपछि शुक्रवार उक्त रिट निवेदन अघि बढाउन आदेश भएको हो । सोही आदेश बमोजिम आफूहरूले रिट निवेदन अघि बढाउने एक जना निवेदक आरणले बताए ।
उनले भने, “उक्त आदेशको लिखित आइनसकेकाले हामीले रिट निवेदन दर्ता गरिसकेका छैनौँ । लिखित आदेश हेरेर त्यो आउने बित्तिकै निवेदन दर्ता गर्छौँ ।”
प्रचण्डलाई पक्राउ गरी आवश्यक प्रक्रिया अघि बढाउनका लागि अन्तरिम आदेश दिनुपर्ने माग यसअघि दरपीठ गरिएको निवेदनमा उनीहरूले गरेका थिए । सोही कुरालाई अबको निवेदनमा पनि उल्लेख गरिने बताइएको छ ।
त्यस्तै द्वन्द्वका नाममा निवेदकहरूलाई पीडित बनाउने कार्यका लागि प्रचण्डलाई दोषी करार गर्नुपर्ने माग निवेदकहरूको छ । उनीहरूले प्रचण्डबाट राहत, क्षतिपूर्ति र परिपुरण गराउन परमादेश हुनुपर्ने माग गरेका छन् ।
पीडितहरूले माओवादीका तर्फबाट मारिएका १८ जनाका परिवार र माओवादीकै तर्फबाट अङ्गभङ्ग तथा धनसम्पत्तिको क्षति भएका नौ जनाका तर्फबाट छुट्टाछुट्टै दुई वटा रिट निवेदन दर्ता गर्ने तयारी गरेको आरणले बताए । अङ्गभङ्ग र धनसम्पत्ति क्षति भएका नौ जनामा एक जना भने राज्य र माओवादी दुवै पक्षबाट पीडित भएका व्यक्ति पनि रहेको उनको भनाइ छ ।
नेपाली कांग्रेसका कार्यकर्ता रहेका आरणका पिता पनि द्वन्द्वकालमा माओवादीका तर्फबाट मारिएको उनको भनाइ छ ।
प्रचण्डको अभिव्यक्ति के थियो?
विसं २०७६ सालको माघीका अवसरमा थारु समुदायले गरेको एक कार्यक्रममा काठमाडौँको खुलामञ्चमा प्रचण्डले द्वन्द्वका बेला मारिएका पाँच हजार मानिसको आफूले जिम्मा लिने बताएका थिए ।
उक्त कार्यक्रममा उनले भनेका थिए, “‘ भन्ने गरिन्छ, मैले १७ हजार मान्छे मारेर आएको तथ्याङ्क भन्ने गरिन्छ । साथीहरू र आदरणीय जनसमुदाय यो सत्य होइन, यो सत्य होइन ।”
“सत्य के हो भने- मलाई भन्न दिनुहोस्, सत्य के हो भने- हिजोको सामन्ती राजाहरूले १२ हजार मारेका हुन् । मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु ।”
“तर राजाहरूले मारेको १२ हजारको चाहिँ कुरा नहुने? हिजोको राज्यले मारेको १२ हजारको, १७ हजारमध्ये १२ हजारको चाहिँ कुरा नहुने । राज्यले मारेको पनि मेरै ठाउकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन ।”
“मैले सधैँ भनेको छु-म युद्धको जिम्मा लिन्छु । त्यहाँ भएको राम्रा र त्यहाँ भएका नराम्रा कामको म जिम्मेवार छु । म त्यसबाट कतै भाग्ने कुरा हुनै सक्दैन ।” नेपाली बिबिसी न्यूजबाट







