Logo

माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन: पौडेल



काठमाडौँ, २४ फागुन । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन् ।

आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माओवादी जनयुद्धको जगमा आएको परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेकाले परिवर्तनकारी शक्तिका बीचमा साझा धारणाका साथ एक ठाउँमा आउनुपर्ने बताएका छन् ।

सचिव पौडेलले भने, “यतिबेला माओवादी अध्यक्ष प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी देशी-विदेशी शक्तिहरू लागिपरिरहेका छन्, त्यसैले पूर्वमाओवादी एक ढिक्का हुुनुपर्छ, यसको विकल्प छैन ।”

सचिव पौडेलले विसं २०७६ माघ १ गते अध्यक्ष प्रचण्डले सार्वजनिकरूपमा बोल्नुभएको विषय राजनीतिक विषय भएकाले अदालतले यस्तो विषयलाई हेर्न नमिल्ने जिकीर गरेका छन् ।

उनले भने, “अध्यक्ष प्रचण्डले त्यतिबेला बोलेको कुरा राजनीतिक भाषा हो र यसलाई अदालतमा लैजानु त्रुटिपूर्ण छ । यस्ता घटनाको हामी राजनीतिक र वैचारिकरूपले प्रतिवाद गर्नेर्छौँ ।”

शान्ति प्रक्रियाका विषय टुङ्ग्याउन माओवादीहरू एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ । “माओवादी आन्दोलनमा भएका साथीहरू एक ठाउँमा हुनुपर्ने बेला आएको छ । हामी छुट्टिँदा हाम्रा मुद्दाहरू कमजोर भए गम्भीर समीक्षा गरेर अघि बढ्छौँ ।”

विगतमा शान्ति प्रक्रियासँग नजोडिएका कतिपय शक्तिले न्यायालयलाई पनि प्रभावित पार्ने काम भएको उनको भनाइ थियो । “बृहत् शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अहिले कतिपयलाई नरुचेको हुनसक्छ”, सचिव पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्