Logo

माघ २५ देखि बिर्तामोडमा किशोरीका लागि एचपिभी खोप अभियान

१५ सयभन्दा बढी किशोरीलाई एचपिभी खोप



झापा, २० माघ । बिर्तामोड नगरपालिकाले यस वर्ष १५ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाउने अभियान सुरु गर्ने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा सामुदायिक ५६ वटा विद्यालयमा पुगेर कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ।

स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार गत वर्षको अभियानमा छुटेका लक्षित उमेर समूहका किशोरीलाई पनि यसपटक अनिवार्य रूपमा खोप लगाइने व्यवस्था गरिएको छ। जनस्वास्थ्य निरीक्षक गणेश रिजालले प्रत्येक विद्यालयबाट छुटेका किशोरीहरूको नाम रोल नम्बर सहित संकलन भइसकेको जानकारी दिनुभयो।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत संजय ठकुरीले पहिलो चरणमा खोप कार्यक्रम सञ्चालन गरिने र दोस्रो चरणमा स्क्रिनिङ गरिने बताउनुभयो। उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक औसत चार महिलाको मृत्यु हुने तथ्य उल्लेख गर्दै एचपिभी खोप रोग रोकथामका लागि अत्यावश्यक रहेको बताउनुभयो।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले अभियान सफल बनाउन सबै जनप्रतिनिधिलाई प्रचार–प्रसार र समन्वयमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उहाँले लक्षित वर्गलाई व्यवस्थित रूपमा खोप लगाउन जोड दिनुभयो।

नगरपालिकाले एचपिभी खोप सञ्चालनसम्बन्धी नगरस्तरीय अभिमुखीकरण गोष्ठीसमेत सम्पन्न गरिसकेको छ। कक्षा ६ मा अध्ययनरत किशोरीका साथै विद्यालय नजाने किशोरीलाई पनि खोप अनिवार्य रूपमा लगाइनेछ। खोप कार्यक्रमका लागि नगरभर ६७ वटा खोप केन्द्र तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्