
इलाम, २ जेष्ठ । इलामको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् । उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन् ।
एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले तीन हजार ४९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए ।
त्यस्तै एमालेकी उम्मेदवार सुनिता सुब्बालाई ६८३ मतान्तरले पराजित गर्दै नेम्वाङ उपाध्यक्ष पदमा विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेम्वाङले तीन हजार ७२९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले तीन हजार ४६ मत पाएका थिए ।







