लमजुङ, २९ जेठ । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत गृहबाट आइतबार विद्युत् उत्पादन नहुने भएको छ ।
विद्युत् प्राधिकरणले ती विद्युत गृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द हुने जनाएको हो ।
गत वर्ष असार १९ मा आएको पहिरोले ढालेको मध्य मर्स्याङ्दी-मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्न लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि ती लाइनमा जोडिएका विद्युत् गृहबाट विद्युत उत्पादन बन्द हुनेछ ।
पहिरोले मध्य मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका-८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुन: स्थापना प्रणाली (ईआरएस) जडान गरी गत वर्षको साउन २ गते प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।