काठमाडौँ, १७ असार । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन् ।
भक्तपुरमा नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए । उनले त्यसका लागि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल शुरु गरिसकेको पनि बताएका हुन् ।
कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गरेको उनले बताए । उनले सबै कम्युनिष्टहरुले आफ्ना त्रुटीहरुलाई सच्याएर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गर्यो भने छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाइ डोर्याउन सकिन्छ, भनेको थिएँ । र कम्युनिष्ट एकता भयो पनि । देशको सबैभन्दा ठूलो शक्ति झन्डै दुई तिहाइ प्राप्त पनि भयो । जनतामा ठूलो उत्साह देखापर्यो । अब कम्युनिष्टहरुले ४०/५० कति वर्ष लानेहुन् शासन भनेर भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ ।’
उनले अगाडि भने, ‘अहिले कमरेड माधवकुमार नेपाल, मलगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल शुरु गरेका छौँ । त्यतिबेला हामीले माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरा भनेका छौँ ।’







