काठमाडौँ, १४ असार । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठ लामो प्रतिवेदनमा राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गर्दै नेकपा एमालेलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनिएको छ । १२ बुँदामा प्रस्तुत गरिएको प्रतिवेदनमा पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रुपमा व्याख्या गरिएको छ ।
अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएको छ । प्रतिवेदनमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ भने मूलतः संविधान लेखनमा सहकार्य गरेका दल संविधान कार्यान्वयनमा पनि एकताबद्ध हुनुपर्ने भनिएको छ ।
प्रतिवेदनमा ‘वाम–लोकतान्त्रिक धार’मा रहेका शक्तिको वर्गाधार र वर्ग चरित्र फरक रहे तापनि संविधानको कार्यान्वयन र राजनीतिक स्थिरताका लागि आजको आवश्यकता भएको उल्लेख गरिएको छ ।
सोमबारबाट सुरु भएको परिषद् बैठकमा मंगलबारसम्म सञ्चालन हुने भएको छ । देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुनेछ ।







