मेचीनगर, १२ साउन । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा अवस्थित माधव संस्कृत विद्याश्रममा १० दिवसीय उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
विद्याश्रममा रहेको विद्यार्थी अक्षय कल्याण कोष तथा वाग्वद्धिनी सभाको आयोजनामा गत साउन २ गतेबाट सुरु भएको उक्त तालिममा ३० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
उक्त तालिमको सहजीकरण सूर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता हरिकृष्ण भण्डारी र सञ्चारकर्मी उमेश खतिवडाले गरेका थिए ।
तालिममा उद्घोषण तथा भाषण कला, तनाव व्यवस्थापन, नेतृत्व तथा व्यक्तित्व विकासलगायतका बारेमा प्रशिक्षण दिइएको थियो ।
संस्थाका अध्यक्ष घनश्याम भट्टराईको अध्यक्षतामा भएको तालिम समापन समारोहको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी रहेका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख भण्डारी, अर्जुनधारा नगरपालिका वडा नं.१० का वडाध्यक्ष भुपेन्द्र नेउपाने, सुर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रेम घिमिरे, इन्द्रेणी महिला समुहका अध्यक्ष महेन्द्रदेवि पराजुली, विद्याश्रमका प्राचार्य पुन्यप्रसाद रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
सो तालिम समापन समारोहमा अर्जुन बास्तोला र ज्ञानेन्द्र अधिकारीले सिकाइ मन्तव्य राखेका थिए ।
त्यस्तै सुजन गडतौलाले वक्तित्व राखेका थिए भने खगेन्द्र पोखरेलले कथा र सक्षम सुवेदी, सोमनाथ निरौला, सैलेश नेपाल तथा रोशन पौडेलले संस्कृत गीत प्रस्तुत गरेका थिए ।
उक्त तालिम समापन समरोहमा नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखिया, रेडियो साथीका स्टेशन मेनेजर सुरज प्रधान, मन्दिर व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम भण्डारी, श्री सरस्वती बाल कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरे, दुर्गा हुनमान मन्दिर भजन समुहका अध्यक्ष भागिरथा खतिवडा, पाउ पाथीभरा धामका अध्यक्ष तिलकप्रसाद गिरी, दुर्गा आवासीय विद्यालयका प्रधानाध्यापक भोजबहादुर कार्की, मन्दिरका कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका सदस्य इश्वर भट्टराईले तालिमको औचित्य माथि प्रकाश पारेका थिए भने सदस्य भुवन रिजालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन इश्वर अधिकारी र कौशल पोखरेलले संयुक्तरूपमा गरेका थिए ।







