
‘नेपाली समाजको संरचनात्मक ढाँचालाई बदल्ने प्रयास नभएका होइनन् । तर ती प्रयासहरु आफै पछि गएर नेपाली समाजको परिवर्तनको मार्गमा बाधाका रुपमा उपस्थित हुने देखिन्छ । किनभने यी परिवर्तनहरु नेपाली समाजको उच्च वर्गको धारणा र मूल्य प्रणालीबाट हाँकिएका छन् ।’ प्राद्यापक डोरबहादुर बिष्ट ।
नेपालमा जानेमानेका मानवशास्त्री प्राद्यापक डोरबहादुर बिष्टले यहाँ तीनवटा वाक्य गठन गरेका छन् । धेरै अघि प्रकाशित उनको पुस्तक ‘फ्याटालिजम एण्ड डेभलोपमेण्ट’को अनुदित पुस्तक ‘भाग्यवाद र विकास’ बाट यि हरफहरु लिइएका हुन ।
यि तिन वाक्यहरुमा पहिलो वाक्यले नेपाली समाजको संरचनात्मक ढाँचा परिवर्तन गर्ने प्रयास गरिएको सकारात्मक सन्देश दिएको छ । वास्तवमा समाज विकासको चरणमा सामाजिक संरचनाहरु बदलिन्छन । कतिपय सवालमा बदल्ने प्रयास गरिन्छ । परिवर्तित सामाजिक संरचनाहरुले भविष्यमा सुखद या दुःखद दुबै परिभाषा दिन्छन् ।
आजभन्दा धेरै वर्ष अगाडि उनले गरेको मानवशास्त्रीय भविष्यवाणी नेपाली समाजमा आज देखा परेको छ । तेश्रो वाक्यले किन नेपाली समाज परिवर्तनको मार्गमा हिँडेन भन्ने कुराको तत्ववोध गराएको छ ।
आर्थिक, सामाजिक साँस्कृतिक रुपले बर्चस्व कायम गरेको वर्गको आफ्नै विचार परम्परा र मूल्य मान्यताबाट हाँक्न खोज्दा नै नेपाली समाजको रुपान्तरण हुन नसकेको जिकिर हो ।
भन्नै पर्ने कुराः
यो आलेख लेख्न पूर्व मैले ‘भाग्यवाद र विकास’ पुस्तकको अधिकृत (होलसेल) समिक्षा गर्ने विचार गरेको थिएँ । तर, पुस्तकमा गठीत प्रतेक वाक्यले मलाइ अधिकृत समिक्षा गर्ने विचारबाट अन्यत्र मोडिदियो ।
पुस्तकको मूलकपी ‘फ्याटालिजम एण्ड डेभलोपमेण्ट’ ले गिदी हल्लाइ दिएको थियो । त्यस बखतदेखि नै मैले नेपाली समाजको अन्तरविरोधमा घोत्लिन थालिसकेको थिएँ ।
पत्रकारिता, पुस्तक लेखन र कतिपय जनजातीय आन्दोलनमा मेरो अभिव्यक्ति त्यसपछि आएका हुन । अहिले म त्यहि पुस्तक नेपालीमा अनुवाद भएपछि अध्ययन गर्न पुगेको छु ।
तर, अनुवाद पनि त्यत्तिकै बेजोड भएकोले हुनसक्छ मैले पुस्तकको अधिकृत समिक्षा गर्ने विचारबाट हटेर यसका केस्रा केलाउने सुरमा पुगेको छु ।
समय, साधन र स्रोतले भ्याएसम्म त्यसतर्फ लाग्ने सुरमा यो आलेख पस्केको हुँ । यदि सबै कुराले साथ दिएन भने त्यसतर्फको विश्राम यहिँनेर आएर पनि लाग्न सक्छ ।
बेमौसमी प्रकाशनः
भाग्यवाद र विकास यस्तो बेलामा अनुवाद भएर प्रकाशित भएको छ, जहाँ नेपाली समाज किंकर्तव्यविमुढ र मुर्दा शान्तिको अवस्थामा छ । नेपाली समाज रुपान्तरणको यो सून्य समय हो ।
सून्य समय यसकारण हो कि प्राद्यापक विष्टले माथि लेखे झैं तेस्रो वाक्य यतिखेर सामाजिक रुपान्तरणको शिर्ष स्थानमा छ । केहि समय अगाडिसम्म नेपाली समाज परिवर्तनको प्रगतिशील मार्गमा आन्दोलनरत थियो ।
केहि आशा र विश्वासकासाथ समाज परिवर्तनको मार्गलाई राजनीतिक अभियानले सम्बोधन गर्ने प्रयत्न गरेको थियो । तर ती सबै प्रयत्नहरु यतिखेर नेपथ्यमा धकेलिएका छन् । र, समाज परिवर्तनको मार्ग पुरै घुमेर यथास्थानमा आइपुगेको छ ।
आजभन्दा ६ दशक अगाडिकै स्थितिमा आइपुगेको छ । जतिबेला समाज परिवर्तनको ज्वाला दन्केको थियो । त्यतिबेला यो पुस्तक नेपाली वाङमयमा नआएकोले यहाँ बेमौसमी प्रकाशन भनेर उपशिर्षकमा उल्लेख गरिएको हो । अन्यथा होइन ।
समाज परिवर्तनको मेसोः
नेपाली समाज परिवर्तनको मूलबाटो पहिल्याउन नेपाली समाजलाइ बुझ्न जरुरी छ । नेपाली समाज अर्थात नेपालको भौगोलिक रुपरेखा भित्रको सामाजिक अन्तरविरोधलाइ खुट्याउन जरुरी छ ।
नेपाली समाजले अंगालेको विविधतापूर्ण सामाजिक सांस्कृतिक मूल्य मान्यताको अंतरंग अन्तरविरोध नै समाज परिवर्तनलाइ दिशा निर्देश गर्ने सूत्र हो । नेपाली समाज विविधतापूर्ण छ भन्ने मान्यतालाई भन्ने मान्यता राख्नु पर्छ ।
समाजभित्र उत्पीडित र उत्पीडक समूह छ भन्ने मान्यताको विश्लेषण जरुरी छ । नेपाली समाज जाति, भाषा, वर्ग, लिंग, क्षेत्र संस्कृतिमा विभाजित समुह हो । ति बीचमा शोषण उत्पीडन कायम छन् । यिनै विचारहरुको आधारमा मात्र नेपाली समाज बुझ्न सकिन्छ र त्यसैको मेसोमा परिवर्तनको ढाँचा कोर्न सकिन्छ ।
नेपाली समाजको ढाँचाः
नेपाली समाजको समाजशास्त्रीय ढाँचाको बारेमा विस्तृतमा अर्कै खण्डमा उल्लेख गरिन्छ । तर यहाँ मोटो बुझाइ गर्नु पनि त्यत्तिकै आवश्यक छ ।
नेपाली समाज चार नश्ल, चार भाषा परिवारका असंख्य जातीय र भाषिक समुदायमा विभाजित छ । यो भूखण्डमा मंगोल, आर्य, अष्ट्रो र द्रबीड नश्ल परिवार छन् ।
यसरी नै भोट–बर्मेली (तिब्बतो–बर्मन), भारोपेली, अष्ट्रो र द्रबीड भाषा परिवारका असंख्य भाषिक समुदाय छन् । यिनै जातीय तथा भाषिक परिवारको संगम आजको नेपाल हो । यो समाज परम्परागत ढंगले आजसम्म करिवकरिव त्यहि रुपको निरन्तरतामा छ ।
त्यसैले प्रा. विष्टले उल्लेख गरेझैं नेपाली समाजको परिवर्तनको मार्ग प्रशस्त भएको छैन । उच्च वर्गको सामाजिक, भाषिक तथा सांस्कृतिक मूल्य परम्परा अनुसार नेपाली समाजलाइ परिवर्तन गर्न खोज्दा बुम्¥याङ खाएको आजको स्थिति हो ।
पुस्तकको परिचयः
यो आलेख भाग्यवाद र विकास पुस्तकको परिचय खण्डको पहिलो पातो भन्दा बाहिर गएको छैन । प्रा. बिष्टले लेखेको यो खण्डको प्रतेक वाक्यले नेपाली समाजलाई देखाउने आँखी झ्यालको काम गरेको छ ।
पुस्तकको पहिलो अध्याय पुग्न नै निकै समय लाग्ने परिचय खण्डले देखाएको छ । यति मूल्यवान कृतिको समिक्षा गरेर मात्र पुग्दैन । प्रतेक वाक्य र हरफहरुले रौं चिरा परिभाषा, व्याख्या र विश्लेषण खोजेको छ ।
मध्य युगबाट यहाँसम्मः
प्राद्यापक विष्टले उल्लेख गरेझैं नेपाल सन् १९५१ अघि मध्य युग थियो । १९५१ को परिवर्तन पछि अर्थात राणा शासनको अन्त्य पछि पनि नेपाली समाजको तात्विक परिवर्तन नभएको यथार्थ हो । बर्चस्व जमाउँदै आएको कुलिन वर्गले यो आलोचना स्वीकार्दैन त्यो अर्कै कुरा हो ।
बसाँइसराइ, अद्योगधन्दा, कलकारखाना, बजार विस्तार, बाटोघाटो आदि भौतिक विकास र त्यसको उपयोग नै उनीहरुले परिवर्तन ठान्छन । नेपाली समाजमा हिजोको आर्थिक, सामाजिक, सांस्कृतिक सन्तुलन भंग भैसकेको ठान्छन् ।
यसैलाइ उनीहरुले नेपाली समाज परिर्तन भैसकेको ठहर गर्छन । तर यति नै कारणले नेपाली समाज परिवर्तन भैसकेको अर्थमा लिन सकिन्न ।
नेपाली समाजको आमूल परिवर्तनको ढोका अझैसम्म खुलि सकेको छैन । मध्य युगबाट आधुनिक युगमा नेपाली समाज आइपुगेको ठहर गर्दा यति नै परिवर्तनले मूल्यबोध गर्दैन ।