काठमाडौँ, २० चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मानव अङ्ग दानलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
पार्टी निकट युवा सङ्घ नेपालले आलोकनगरस्थित केन्द्रीय कार्यालय परिसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा उनले युवा वर्गले सामाजिक कर्मलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै रक्तदानले अरुको जीवन बच्छ भने हामीले यस्ता कार्यमा चेतना फैलाउन आग्रह गरेका हुन् ।
हामीसँग भएका कुनै पनि अङ्ग तथा वस्तु दानबाट अरुको कल्याण हुन्छ भने त्यस्ता कुरामा युवालाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रक्तदान कार्यक्रमका सहभागी युवाको सराहना गरेका थिए ।
उनले मानव जीवनका लागि रगत अत्यन्तै आवश्यक रहेको भन्दै सम्बन्धित बिरामीका लागि यो प्राणवायु जस्तै महत्वपूर्ण हुने बताए ।