Logo

मानव अधिकार मौलिक हकको रुपमा स्थापित छ ः प्रधानमन्त्री देउवा



काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै कार्य गर्दै आइएको उल्लेख गरेका छन् ।

मानवाधिकार दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकारअन्तर्गतका प्रायः सबै अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताए । ती अधिकारको हनन भएमा सक्षम र स्वतन्त्र न्यायपालिकाबाट प्रभावकारी उपचार पाउने कुरालाई संवैधानिकरूपमा नै सुनिश्चित गरिएको समेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानून निर्माण भई कार्यान्वयनमा आइसकेका समेत जनाए । सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले मानव अधिकार दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाइँदैछ ।

प्रधानमन्त्री देउवाले विश्व मानव अधिकार दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, मानव अधिकारकर्मी सङ्घसंस्था, नागरिक समाज, पत्रकारलगायत सम्बन्धित सबैमा शुभकामना व्यक्त गरे । “मानव अधिकार मानव मात्रको नैसर्गिक अधिकार हो । मानव प्राणी भएको नाताले मानवले निर्बाध उपभोग गर्न पाउने सम्पूर्ण हक अधिकार यसअन्तर्गत पर्दछन् । मानव अधिकार लोकतान्त्रिक शासन व्यवस्थाको अभिन्न अङ्ग हो । मानव अधिकार विनाको लोकतन्त्र अपूर्ण हुन्छ । यस विशेष अवसरमा म मानव अधिकारको संरक्षण, संवद्र्धन र कार्यान्वयनप्रति नेपाल सरकारको पूर्ण प्रतिबद्धता व्यक्त गर्न चाहन्छु”, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्