Logo

मानसिक हिंसाको चपेटामा महिला



सडकमा हिड्दा होस्, या बसस्ट्याण्डमा, सवारी भित्र होस् वा सार्वजनिक स्थलमा युवतीलाई देखाएर युवाहरु प्रतिक्रिया हुन्छ, क्या सेक्सी, च्वाक, छम्मा, माल । युवतीले सुन्ने गरी जस्ता शब्द प्रयोग हुने गर्दछ । तर, युवतीले सुनेको नसुने जस्तो गरेर आफ्नो बाटो हिँड्नु पर्दछ ।

समाजमा टिनएजमै यस्तो धारणा बनाएपछि महिलाप्रतिको सकारात्मक धारणा कहिले बन्ला ? उनीहरुले माल, सेक्सी, च्वाक, छम्मा शव्दको प्रयोगले यौन आसक्ति प्रकट गरिरहेका हुन्छन् ।

युवा मात्र होइन, बहेस्क र वृद्धले पनि युवती र महिलामाथि मानसिक हिंसा दिने गर्दछन् । चिनजान भएका वा चिनजान भएपछि पौढ वा वृद्धले नानी त कति राम्री ! अहो दुई दुई वटा नानीकी आमा पनि यति राम्री ! कसरी शरीरको मेन्टेन गरेको ? जस्ता प्रतिक्रिया दिन्छन् । उनीहरुका यस्ता भनाइले प्रशंसा गरे जस्तो गरेपनि अन्तर्यमा महिलामाथिको गलत आशय नै हो ।

महिलाले यस्ता हर्कत घर, अफिस, सडक सबै ठाउँमा व्यहोर्नु पर्दछ । तरपनि सकारात्मक भावमा आउने यस्ता हिंसाको महिलाले प्रतिवाद गर्दैनन् । कतिपय महिलाले सहज स्वीकारर्छन् । कतिले राम्रै भनेको होला भनि ठान्छन् । यस्तो हिंसा जताततै देख्न सकिन्छ । बलात्कार, बुटपिट, बोक्सिको आरोप मात्र हिंसा होइन, सार्वजनिक स्थान, घर, कार्यालय वा सडकमा पुरुषले महिलालाई मानसिक रुपमा दिने तनाव महिलामाथिको मानसिक हिंसा हो ।

परिवर्तित समाजमा हिंसाको रुपमासमेत परिवर्तन हुँदैछ । सार्वजनिक स्थानमा धैरै केटी आफू छोरी भएकै कारण अपाच्य शब्द सुन्न बाध्य छन् । स–सम्मान बाच्न पाउने सबैको अधिकार हो । तर, आफ्नै गाँउ, टोल, बजारमा गल्ती नगरे पनि अपमानित भएर हिड्न बाध्य छन् । के छोरी भएर जन्मनु गल्ति हो ? कि उनीहरुको रुप र सोन्दर्य पाप हो ? अझ छोटा कपडा लगाएर हिड्ने यवतीले यस्तो मनसिक तनाव बढी खप्नु पर्ने हुन्छ ।

कपडा छोटो र लामोको होइन, राम्री र नराम्रीको पनि होइन । मुख्य कुरा मानसिकताको हो । पुरुषमा हुने एक प्रकारको हिंसात्मक मानसिकताले महिलामाथि हिंसा हुने गरेको छ । छोटा कपडा लगाउने मात्र हिंसामा परेका छैनन् । लामो कपडा लगाउने, हजुरआमा उमेरका, अपाङ्ग, सडक बालिका, सुस्त मनस्थितिका महिला, बालिका र युवती पति बलात्कारका शिकार भएका छन् । जहाँ सुन्दरता भन्ने हुँदैन तरपनि बलात्कार हुन्छ । यो नै हिंसात्मक मानसिकता हो ।

आजको समयमा महिला घर भित्र सीमित नभएर व्यवसाय र जागिरमा संलग्न भएका हुन्छन् । त्यस्ता महिलालाई पुरुषले गर्ने व्यवहार र मानसिक हिंसा चुनौतिपूर्ण बन्दै गएको छ । कतिपय होटलमा महिला वेटरको रुपमा काम गरिरहेका हुन्छन् त्यहाँ महिला आकर्षणको केन्द्रबिन्दु रुपमा प्रयोग भइरहेका हुन्छन् । त्यहाँ पनि ग्राहकको अपाच्य शब्द सुन्न र अनैतिक व्यवहार खप्न बाध्य छन् ।

हरेक वर्ष अङ्ग्रेजी नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन लैङ्गिक हिंसा बिरुद्धको अभियान सञ्चालन हुने गरेको छ । यस वर्ष पनि लैङ्गिक हिंसा बिरुद्ध विभन्न कार्यक्रम सञ्चालन भए । सधै झै यस वर्षपनि लैङ्गिक हिंसा बिरुद्धका कार्यक्रम गाँउमा भन्दा शहर केन्द्रित भयो ।

गाँउ–गाँउमा महिला हिंसा धैरै हुन्छ र त्यहाँका महिलालाई हिंसा, आफ्नो अधिकार र कानुनको चेतना कम हुन्छ । शारिरीक हिंसाको बारेमा त जानकार नभएको ठाँउमा मानसिक यातनाको ज्ञानको हालत के होला ? सहजै अनुमान लगाउन सकिने कुरा हो ।

लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रममा एकजना महिलाले कार्यस्थलमा महिला माथिहुने हिंसाको बारेमा आफ्नो अनुभव सुनाइन् । ति महिला मोटरसाईकल मेकानिक हुन् । ग्राहक मोटरसाईकल बनाउन आउने । र, मोटरसाइकल बनाएको हेर्न बहानामा आफुले निहुरिएर काम काम गरिरहेको एकोहोरा हेर्न गरेको, विभिन्न तरिकाले जिस्काउन गरेको उनले बताइन् । यस्तो व्यवहारले मानसिक यातना हुने र काममा असहज हने उनको भनाई थियो । प्रतिकार गर्दा ग्राहक घट्ने डरले पनि सहन बाध्य भएको उनले सुनाइन् ।

यो त सार्वजनिक रुपमा र कार्य स्थलमा महिला माथि हुने मानसिक हिंसाको उदाहारण हो । पछिल्लो समय महिलालाई घर भित्र तथा सामाजिक सञ्जालमा दिने मानसिक पिडा पनि कम छैनन् । त्यहि कार्यक्रममा अर्की महिलाले सामाजिक सञ्जालमा हुने मानसिक पिडाबारे आफ्नो भोगाइ बताइन् । प्रत्यक्ष भेटघाट हुँदा राम्ररी बोल्ने जब सामाजिक सञ्जालमा करा हुन्छ त्यतिबेला अनेकौ नकरात्मक कुरा गरेर मानसिक पिडा दिने गरेको सुनाइन् । सामाजिक सञ्जालबाट उत्पन्न मानसिक तनाबकै कारण आत्माहत्या भएका उदाहरण पनि छन् ।

सामाजिक सञ्जाललाई सदुपयोग गर्न सके थुप्रै फाइदा छन् तर दुरुपयोले मानिसको ज्यानसमेत लिएका खबर प्रसस्त छन् । महिला हिंसामा पर्नुको प्रमुख कारण भनेको महिलाप्रतिको समाजको गतल दृष्टिकोण हो । महिलालाई सानैदेखि सहनशील, सुशील हुनुपर्ने भन्ने शिक्षा दिइन्छ । शोषण र हिंसाको विरोध गर्नुपर्छ भन्ने शिक्षा दिइएको हुँदैन ।

त्यस्तै हाम्रा संस्कृति र परम्परा पनि महिला हिंसा कायम रहनुमा जिम्मेवार छन् । विभिन्न संस्कृति र परम्पराका नाममा अझै पनि शोषण व्याप्त छ । यसको ज्वलन्त उदाहरण हो आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप खेपिरहेका बराहक्षेत्र चतराधामका धर्मगुरु कृष्णदास गिरी ।

राजनीतक तथा आर्थिक क्षेत्रमा परिवर्तनको महसुस भएपनि महिला हिंसा न्युकरणमा परिवर्तन हुन सकेको छैन । समाजका परम्परागत संरचना र सोँचलाई त्यस्ता परिवर्तनले कुनै लछारपाटो लाउन सकेन । चेतनशील, शिक्षित, बुद्धिजीवी, धर्मगुरु, आफन्त, नातागोता, छरछिमेकबाट महलिा हिंसा हुने गरेका छन् ।

भनिन्छ निदाएको व्यक्तिलाई बिउँजाउन सजिलो हुन्छ तर निदाएको नाटक गर्नेलाई बिउँजाउन गाह्रो हुन्छ । हो यस्तै छ वर्तमान समाज । जानाजान महिलामाथि भएको हिंसाको अन्त्य कहिले होला ? हरेक वर्ष मनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानले प्रत्येक वर्ष यस्तै अनैकौ प्रश्न छोडेर जान्छ । बलात्कार जस्ता जघन्य अपराध र महिला हिंसामा परेकाले त न्याय पाउन नसकिरहेको तितो यथार्थका बिच मानसिक हिंसाको के लेखाजोखा होला ?

प्रतिक्रिया दिनुहोस्