काठमाडौँ, १८ साउन । विसं २०६० मा पशुपतिनाथ अमालकोट कचहरी र मारवाडी सेवा समितिबीच पशुपति गौशाला धर्मशाला सञ्चालनका सम्बन्धमा भएको नौबुँदे सम्झौता रद्द भएको छ ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बुधबार बसेको बैठकले अमालकोट कचहरी र मारवाडी सेवा समितिबिच भएको सम्झौता रद्द गरी पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको जग्गा फिर्ता ल्याएको हो ।
विसं. २०६० मा काठमाडौँको गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र सोही स्थानको कि.नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिलाई धार्मिक कार्यको प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अग्रसरतामा सेवा समितिको कब्जामा रहेको पशुपतिनाथ मन्दिरको जग्गा २० वर्षपछि फिर्ता आएको हो । मन्त्री किराती कोषका अध्यक्षसमेत हुन् । उनले विश्व सम्पदा सूचीमा रहेको विश्वभरिका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा गर्नुपर्ने धेरै सुधारका काममध्ये जग्गा फिर्ता पनि एक महत्त्वपूर्ण कार्य भएको बताए ।
सम्झौतापत्रमा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिवभगवान अग्रवालले हस्ताक्षर गरेका थिए सम्झौता हुँदा कोषका सदस्यसचिवको जिम्मेवारीमा व्यवसायी वसन्त चौधरी रहेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।





