माली, २२ भदौ । पूर्वोत्तर मालीमा इस्लामवादी विद्रोहीहरूले एउटा डुङ्गामा आक्रमण गर्दा कम्तीमा ४९ सर्वसाधारण नागरिकको मृत्यु भएको त्यहाँको अन्तरिम सरकारले बताएको छ ।
उनीहरूले एउटा सैन्य शिविरमा पनि आक्रमण गरी १५ सैनिकको हत्या गरेका छन् ।
आक्रमणकारीहरूतर्फ झन्डै ५० जनाको ज्यान गएको बताइएको छ । घटनापछि सरकारले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ।
रुसी भाडाका सैनिकहरूको समूह वाग्नरले आफ्नो अभियान फिर्ता लिन लागेको सेनाको दाबी छ । मालीमा इस्लामवादी आक्रमणका धम्कीहरू बढिरहेका छन् ।
गत महिनाको अन्त्यदेखि उत्तरी नगर टिम्बक्टूमा नाकाबन्दी गरिएको छ । त्यहाँ यातायातका साधनमाथि बारम्बार आक्रमण भइरहेको छ ।







