झापा, १६ चैत । माहेश्वरी समाज मेची र महेश्वरी महिला मञ्चको संयुक्त साधारणसभा तथा पद हस्तान्तरण कार्यक्रम बिर्तामोडस्थित मारवाडी सेवा समाजको सभाहलमा सम्पन्न भएको छ।
नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय अध्यक्ष निर्मला जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
माहेश्वरी समाज मेचीको अध्यक्षमा नविन गट्टानी चयन भएका छन् भने महिला मञ्चतर्फ अध्यक्षमा सुधा अटल तोसनिवाल चयन भएकी छन्। अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा निवर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा सम्पन्न सामाजिक कार्यहरूको विवरण प्रस्तुत गरेको थियो। सो अवधिमा विद्यालय, बालगृह तथा विभिन्न सामाजिक संस्थामा सहयोग, सामग्री वितरण र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिइयो।
कार्यक्रमका वक्ताहरूले निवर्तमान नेतृत्वलाई सफल कार्यकालका लागि धन्यवाद दिँदै नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।






