भारत, १३ मंसिर । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर गरेको टिप्पणीप्रति भारतीय जनता पार्टी (बीजेपी) ले आपत्ति जनाएको छ ।
बीजेपीले कांग्रेस अध्यक्ष खड्गेको टिप्पणीको जवाफ दिँदै गान्धी परिवारले मोदीलाई घृणा गर्ने गरेको बताएको छ । बीजेपीले कांग्रेसका अध्यक्ष खड्गेले मोदीलाई ‘रावण’ भनेको दाबी गरेको छ ।
बीजेपी प्रवक्ता संबित पात्राले आज पत्रकार सम्मेलन गर्दै कांग्रेस अध्यक्षले सोनिया गान्धीले भनेको भरमा प्रधानमन्त्री मोदीको अपमान गरेको दाबी गरेका छन् ।
गुजरात चुनाव प्रचारका क्रममा सोमवार मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री मोदीलाई लक्षित गर्दै भन्नुभएको थियो, ‘तपाईंको अनुहार कति पटक हेर्यौँ । सबैतिर तपाईंको नै अनुहार देखिन्छ । कति वटा अनुहार छ तपाईंको? के तपाईंको पनि रावणको जस्तै १०० मुख छ?’
एक अर्को चुनाव प्रचारको क्रममा अध्यक्ष खड्गेले प्रधानमन्त्री मोदीलाई एकपछि अर्को झुट बोलिरहेको आरोप लगाएका थिए ।
खड्गेको यही टिप्पणीमाथि आपत्ति जनाउँदै बीजेपीले प्रधानमन्त्री मोदीलाई रावण भन्नु पूरै गुजरातको अपमान भएको बताएको हो ।







