काठमाडौँ, २७ साउन । सरकारले मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
गृह मन्त्रालयका सह-सचिव डा.भीष्म भुसालको संयोजकत्वमा रहेको कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेका छन् ।
कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई मनोनयन गरिएको गृह मन्त्रालयले जनाएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।






