सप्तरी, १० वैशाख । सप्तरीको खडक नगरपालिका-६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो । बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि उनी खडक-७ का रामदेव साहु तेलीकहाँ पुगे । पासवानले तेलीबाट दोस्रोपटक पनि ऋण पाए । त्यसबापत पासवानले आफ्नो १६ कट्ठा १ धुर जग्गा तेलीका नाममा राजीनामा पास गरिदिए । तेली मिटर ब्याजमा ऋण लगाउने व्यक्ति हुन् । पासवानले पहिलोपटकको कारोबार गर्दा इमानदारीपूर्वक नै पैसा चुक्ता गरेपछि तेलीले जग्गा पनि फिर्ता गरिदिएका थिए ।
पछिल्लोपटक भने पासवानले तेलीबाट धोका पाए। उनले ब्याजसहित १६ लाख ऋण चुक्ता गरे तर जग्गा फिर्ता पाएनन् । पासवानले सप्तरी प्रहरी प्रशासन, अदालतलाई गुहार्न थालेको एक वर्षभन्दा बढी समय बितिसक्यो तर अझै तेली फेला परेका छैनन् ।
राजविराजबाट डेरा सर्दैसर्दै तेली पछिल्लो समय धरानमा आएको खबर सुनेका पीडित छेदीलालसहित सातजना शुक्रबार दोस्रोपटक धरान आए । आजको नागरिक दैनिकमा समाचार छ ।