Logo

मिटरब्याजी रामदेवका छाेरा र छाेरी थुनामा



सप्तरी, २३ असार । मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी बुधबार पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।

मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौँबाट पक्राउ गरेको थियो । सप्तरीका विपन्न नागरिकको उठीबास लगाएर फरार रहेका मिटरब्याजी रामदेव साह अहिलेसम्म पक्राउ परेका छैनन् । रामदेवसहित अन्य छ जना फरारको खोजी भइरहेको छ । आरोपितविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएपछि प्रहरी सक्रिय भइ उजुरी दर्ता गरेको हो । पीडितले तीन महिनाअघि नै उजुरी दिए पनि बेवास्ता गर्दै आएको सप्तरी प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपछि कारोबारीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्