काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
बिहीवार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने बताए । मिटरब्याज लिने ऋणीहरूले पनि सचेत हुन आवश्यक रहेको उनले बताएका हुन् ।
उनले भने, ‘हामीले मिटरब्याज पीडितहरूको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्छ । अप्ठेरो पर्यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्न पनि हुँदैन । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैँ पनि सचेत हुनुपर्छ । यो गलत कुरा हो, कानुन विपरित छ भन्ने कुरा सरकारले थाहा पाइसकेपछि यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ ।’







