काठमाडौँ, ५ वैशाख । सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमवार भएको झडपबारे अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।
पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक-एक जना प्रतिनिधि छन् । समितिलाई झडपको सत्यरतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।
सरकारले यसअघि तराईबाट पैदलै काठमाडौँ आएका मिटरब्याजी पीडितसँग एउटा सहमति गरी कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको र आयोग बनाएर आवश्यक अध्ययन अनुसन्धान थालिसकेको अवस्थामा त्यो सम्झौता अपूरो भएको भन्दै पुन: अर्को समूह आएर आन्दोलन थालेको थियो ।
उनीहरूले सरकारसँग छ बुँदे माग राख्दै वार्तासमेत गरे पनि सहमति हुन नसकेपछि शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका थिए । त्यही क्रममा सोमवार घटना भएको थियो । सोमबार भएको झडपमा प्रहरीतर्फ आठ जना र पीडिततर्फ २० जना घाइते भएका छन् ।







