दाङ, १ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताएकी छन् ।
दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको बताएकस् हुन् ।
रेडियो सुन्ने र रेडियोको समाचारमा भर पर्नेको सङ्ख्या धेरै रहेको उल्लेख गर्दै मन्त्री शर्माले यसको सवलीकरणमा राज्यको ध्यान दिने विश्वास दिलाएकी थिइन् ।
राजनीतिक दलमा आबद्ध भई बेथिति गर्नेहरुका कारण अहिलेको व्यवस्थामाथि नै प्रहार गर्न खोज्नु सह्य नहुने उनको भनाइ थियो । “हामीले प्राप्त गरेका उपलब्धि बचाउँदै मुलुकको विकास र सुशासन कायम गर्न रेडियोले हिजोका दिनमा जसरी आफ्नो भूमिका सशक्त बनाएर लैजानुपर्छ”, उनले भन्नि, “एक जना नेता, कर्मचारी, मिडियाकर्मी, व्यक्तिको कमजोरी गल्तीलाई संस्थागत रूपमा जोडेर व्यवस्थामाथि नै नकारात्मक भाव पैदा गर्ने काम कोही कसैबाट गरिनुहुँदैन । यसमा रेडियो मध्यपश्चिमले तटष्ठ, निष्पक्ष र स्वतन्त्ररूपमा अघि बढ्नुपर्छ ।”







