Logo

मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा छौं: सञ्चारमन्त्री



काठमाडौँ, २३ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताएकी छन् ।

सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताएकी हुन् ।

उनले त्यसको लागि तत्काल सरोकारवाला निकायहरुले आवश्यक सल्लाह सुझावहरु मन्त्रालयलाई दिन पनि आग्रह गरिन् । उनले आमसञ्चार क्षेत्रका लागि बनेका कानुनहरु अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानुनहरु परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताइन् ।

“आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानुन बनाउँदा सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको छ,” उनले भनिन्, “आमसञ्चार क्षेत्रको विकास, समृद्धि र सवलीकरण हुनु भनेको राज्यको सवलीकरण हुनु सरह हो ।”

उनले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्नअंगका रुपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला-ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखिन् ।

मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्