Logo

मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ: उपाध्यक्ष भुसाल



ललितपुर, २२ कात्तिक । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताएकी छन् ।

पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने भ्रामक र मिथ्या हुने सन्देशले समाज दूषित बनाइरहेको उनको भनाइ छ ।

दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष-अनवरत पाइलाहरू’को लोकार्पण कार्यक्रममा उपाध्यक्ष भुसालले भन्नि, “जनताको सुसूचित हुने अधिकारमा आँच नआउने गरी प्रविधिको दुरुपयोग रोक्नुपर्छ, भ्रामक र मिथ्या सन्देश प्रवाह हुन दिनु हुँदैन ।” सामाजिक सञ्जालमार्फत भइरहेका अनर्गल प्रचारले समाज विकास र राजनीतिक व्यवस्था सुदृढ नहुने बताउँदै उनले र भर्चुअल माध्यमबाट हुने गरेको अराजक अवस्थालाई नियन्त्रण गर्न सबै राजनीतिक दल एकमत भएको जानकारी दिइन् ।

लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई अवमूल्यन गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष भुसालले भन्नि, “पटक-पटकको सङ्घर्ष र दशौँ हजारले जीवन समर्पण गरेर ल्याएको व्यवस्थालाई समृद्ध तुल्याउने हो, अझ सुदृढ बनाउने हो, दुत्कार्ने होइन ।” उनले महत्वपूर्ण पुस्तक बजारमा आउँदा सही इतिहास जनतासमक्ष पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्