Logo

मिसन ८४ सफल पार्ने नेतृत्व छनौट गर्न अध्यक्ष ओलीको निर्देशन



कैलाली, ६ फागुन । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कैलाली जिल्ला अधिवेशन आइतबारदेखि सुरु भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ लाई सफल पार्ने नेतृत्व छनौट गर्न निर्देशन दिएका छन् ।

गुटबन्दी, अराजकता, अनुशासनहीनता पार्टी नचल्ने चर्चा गर्दै अध्यक्ष ओलीले पार्टीमा राम्रो आचरण भएको, सक्रिय र स्पष्ट विचार भएको व्यक्ति नेतृत्वमा आउनुपर्ने बताएका हुन् ।

आफूले भनेको भएन भने अराजक कार्य गर्ने, विधि विधान तरिका मिचेर पार्टी सङ्गठन बलियो नहुने चर्चा गर्दै अध्यक्ष ओलीले नीति र विधि पालना गर्न निर्देशन दिए ।

अध्यक्ष ओलीले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नुपर्छ भने । उनले सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन सुझाव दिए । उनले भने, “सहमति हुन नसके चुनावमा जाने साथीहरूले हार र जितलाई सहर्ष स्विकारेर जानुपर्छ, स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, हार्नभन्दा छोड्न राम्रो हो ।”

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको टिप्पणी गरेका थिए । उनले भने , “म प्रधानमन्त्री भएका बेला अर्थतन्त्र सुधारिएको थियो, उत्पादन वृद्धि भएको थियो । पूर्वाधारको विकास भएको थियो । एकै दिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक, ३९६ वटा पालिका स्तरमा अस्पताल निर्माण शिलान्यास भएको थियो । ती योजना अलपत्र छन् ।”

अध्यक्ष ओलीले भने, “चुनावदेखि चुनाव होइन, देशमा समृद्ध र विश्वले हेर्नलायक देश बनाउन नेकपा (एमाले) लागिपरेको छ । अध्यक्ष ओलीले भने, “हामीलाई यो देशमा सुशासन ल्याउनुछ, रोजगारीको अवसर सिर्जना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।”

प्रतिक्रिया दिनुहोस्