विराटनगर, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहल गर्दागर्दै पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले प्रदेश सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसकेको स्वीकारेका थिए ।
मुख्यमन्त्री राईले असुविधा र हतारबाट बनेको प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई अत्यन्त महत्व दिएको दाबी गर्दै बजेटको सीमितताले सञ्चार क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए ।
प्रदेश सरकारले पत्रकार महासङ्घको भौतिक विकासका लागि प्रत्येक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए ।







