चितवन, २३ साउन । कालीखोलामा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलाइएको छ ।
पहिरोका कारण बिहानैदेखि रोकिएका गाडीलाई गन्तव्यसम्म पठाउनका लागि एकतर्फी सडक खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी चण्डेश्वर साहका अनुसार रोकिएका गाडीलाई पास गराए पछि फेरि सडक बन्द गरी पहिरो हटाइने छ । थप पहिरो नखसे अबको तीन घण्टामा सडक खुलाउने तयारी भएको उनले जानकारी दिए । तर, लगातार ठूलो पानी परिरहेकाले यो सडक खण्डमा थप पहिरोको जोखिम छ ।
चितवनको इच्छाकामना गाउँपालिका-६ मा पर्ने कालीखोलामा बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेको थियो । पहिरो खसेपछि सडक अवरुद्ध हुँदा गाडीको लामो लाइन लागेको छ । प्रहरीले यो सडक भएर आज सकेसम्म यात्रा नगर्न अनुरोध गरेको छ ।
नारायणगढ-मुग्लिन सडक खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । यसैबीच, लगातारको वर्षाका कारण देशका अन्य विभिन्न ठाउँमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।







