चितवन, २० साउन । मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
गएराति २ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएको छ । तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइरहेका छन् ।
पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा मङ्गलवार फेरि पहिरो खसेको थियो । बुधवार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो । तर, गएराति फेरि पहिरो गएको हो ।






