चितवन, १६ भदौ । पहिरोले बन्द मुग्लिन नारायणगढ सडकखण्ड खुलाउन झण्डै ५ घण्टा लाग्ने भएको छ । चितवनका विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खसेको छ ।
आज बिहानदेखि गाडी रोकिएका छन् । सडक बन्द भएपछि गाडीको लामो लाइन लागेको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा रहेको केराबारीमा बिहान लेदोसहितको पहिरो खसेको छ ।
त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
केराबारीको पहिरो पन्छाउन ४/५ घण्टा लाग्ने र १८ किलोको पहिरो ३ घण्टामा हटाउनेगरी काम थालिएको प्रहरीको भनाइ छ । चितवनको इच्छाकामना गाउँपालिका-६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ ।






