भोजपुर, १० वैशाख । किराँत सभ्यतासँग जोडिएको सांस्कृतिक सम्पदा मुन्धुम क्षेत्रका स्थानीय तहले यस क्षेत्रको विकास र प्रवद्र्धन गर्न साल्पासिलिछो संयुक्त सङ्कल्प पत्र जारी गरेका छन् । समुद्र सतहबाट तीन हजार सात सय ४३ मिटर उचाइमा अवस्थित भोजपुरको साल्पासिलिछो गाउँपालिकाको साल्पापोखरीमा भएको सम्मेलनबाट उनीहरूले २४ बुँदे सङ्कल्प पत्र जारी गरेका हुन् ।
साल्पासिलिछो गाउँपालिकाको आयोजनामा तथा जी फाउण्डेसनको साझेदारीमा भएको सम्मेलनमा मुन्धुम पदमार्गसँग जोडिएका भोजपुर र सङ्खुवासभाका ११ स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पदमार्गले छोएका वडाका वडाध्यक्ष, भोजपुरका प्रमुख जिल्ला अधिकारी, साझेदार संस्था र सरोकारवालाको सहभागिता रहेको थियो ।
यस क्षेत्रका स्थानीय तह ‘मन्धुम ट्रेल–साल्पा सिलिछो’ क्षेत्र आफैँमा किराँत सभ्यताको अमूर्त सांस्कृतिक सम्पदा भएकाले सम्पदामा जोखिम हुने गरी कुनै पनि पूर्वाधार विकासका गतिविधिमा रोक लगाउनका लागि सहमति गरिएको छ । साथै मुन्धुम ट्रेलको ६० प्रतिशत खण्ड स्तरोन्नति भइसकेको र बाँकी ४० प्रतिशत खण्ड पनि तत्काल स्तरोन्नति गर्न सबै सहमत भएका छन् ।
सप्तकोसी खुवालुङदेखि चोमेलुङसम्म ‘ग्रेटर मुन्धुम ट्रेल’ विस्तार गर्न बजेट विनियोजनका लागि पहल गर्न पनि यस क्षेत्रका पालिका सहमत भएका छन् । साल्पापोखरीदेखि हुँगाखोला महाकुलुङ, आम्फुलाप्चा पास हुँदै सगरमाथा बेसक्याम्प जाने भागको खोजी गर्न बाँकी छ । सप्तकोसी खुवालुङ उपत्यकालाई ग्रेटर मुन्धुम ट्रेलको पदैलमार्गका रूपमा विकास गर्दै सगरमाथा क्षेत्र पुग्ने पर्यटकसमेत खुवालुङ हुँदै कोसीटप्पुसम्म आइपुग्ने पदमार्गलाई ग्रेट मुन्धुम ट्रेलका रूपमा लिइएको छ ।
सङ्कल्प पत्रमा सन् २०२५ मा मुन्धुम ट्रेलमा कम्तीमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । त्यसपछिका वर्षमा थप पर्यटक निरन्तर वृद्धि गरी भोजपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी र उदयपुर जिल्लाका समृद्धिको आधार मुन्धुम ट्रेल बनाउने लक्ष्यका साथ ‘मुन्धुम ट्रेल भ्रमण वर्ष २०२५’ मनाउने कार्यका लागि सबै गाउँपालिकाले बजेट विनियोजन गर्न सहमत भएका छन् ।
यस्तै किराँतको उत्पत्ति थलो, मन्धुमको विकास भएको, किराँतको प्राग ऐतिहासिक थलो साल्पापोखरी सिलिचुङ पवित्र तीर्थस्थल भएकाले मुन्धुममा वर्णित सांस्कृतिक पात्रहरू, मूल्य मान्यता र जनविश्वास प्रतिविम्बित हुने गरी विकास गर्न छुट्टै बजेट आवश्यक भएकाले उक्त बजेट व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्न सहमति भएको छ ।
मुन्धुम पदमार्गको ‘लाइफलाइन’का रूपमा रहेको पदमार्ग क्षेत्रमा रहेका गोठहरूलाई सङ्गठित गरिने पनि सङ्कल्प पत्रमा उल्लेख छ । हाल ‘मुन्धुम गोठस्टे’ समिति गठन गरी मुन्धुम पदमार्ग भ्रमण गर्ने पर्यटकलाई केही गोठहरूले सेवा दिन सुरु गरेका छन् । थप गोठहरूलाई बाह्रै्र महिना पर्यटकलाई सेवा दिनेगरी सुधार गर्दै पर्यटकमैत्री बनाउन हाल खानेपानी, शौचालय, सुत्ने तथा बस्ने कोठा, लत्ताकपडासहित न्यूनतम पूर्वाधार गोठको निर्माणका लागि बजेट व्यवस्था गर्न सहमत भएका छन् ।
साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले यस क्षेत्रको प्रवद्र्धन गर्न सबै पालिकको सहयोग आवश्यक भएको बताए । उनले भने, “जलवायु परिवर्तनको असर हामीले भोगिरहेका छौँ, जलवायु परिवर्तनविरुद्ध आवाज उठाउन हामीले यो उचाइमा सम्मेलनको आयोजना गरेका हाँै ।”
भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले यस क्षेत्रमा पर्यटक भित्र्याउन सडक र पदयात्रा मार्ग दुवैको विकास गर्नुपर्ने बताए । निश्चित क्षेत्रसम्म सडक पूर्वाधार बनाइनुपर्नेमा जोड दिँदै उनले सडक निर्माण गर्दा पदमार्गको विकासमा पनि ध्यान दिनुपर्ने बताए ।
भोजपुरको प्रमुख अधिकारी हरिप्रसाद घिमिरेले मुन्धुम क्षेत्रमा पर्यटनको उच्च सम्भावना रहेको औँल्याउँदै यस क्षेत्रलाई आयआर्जन र रोजगारीमूलक बनाउन रैथाने खाद्यवस्तुको प्रवद्र्धन गर्न आग्रह गरे । सम्मेलनमा पदमार्गसँग जोडिएको टेम्केमैयुङ, साकेला, साल्पासिलिछो, सिलिचोङ, पौवादुङमा गाउँपालिका, खाँदबारी, भोजपुर र षडानन्द नगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।