काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल पूरा गरेर चेन्नई पुगेको छ। विश्वकपको औपचारिक सुरुवात अघि नेपालले चेन्नईमा दुईवटा वामअप खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपालको पहिलो वामअप खेल मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध हुनेछ। खेल चेन्नईस्थित ऐतिहासिक एमए चिदम्बरम रङ्गशालामा आयोजना हुनेछ।
त्यसैगरी, दोस्रो वामअप खेल बिहीबार क्यानडासँग हुने तालिका छ। दुवै खेलमार्फत टोलीले विश्वकप अघि आफ्नो संयोजन र रणनीति अन्तिम रूप दिने लक्ष्य लिएको छ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्राको सुरुवात गर्नेछ। प्रतियोगितामा नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ दुईपटकको विश्व विजेता वेस्ट इन्डिज, पूर्व च्याम्पियन इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली पनि रहेका छन्।
समूह चरणमा नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। विशेष रूपमा नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलोपटक आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ।
समूह चरणका सबै खेल मुम्बईमा हुनेछन् र नेपाली टोलीका खेलका सबै टिकट अग्रिम रूपमा बिक्री भइसकेका छन्। नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो। यो सहभागिता नेपालको तेस्रो विश्वकप यात्रा हो।






