काठमाडौँ, १८ साउन । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसाे विशेष सूचनाका आधारमा जहाजकाे सुरक्षामा खतरा आउने आशंकापछि मुम्बई जाने तयारीमा रहेका २ जना शंकास्पद यात्रुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । उनीहरू श्रीमान्-श्रीमती रहेकाे खुलेकाे छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई जाने तयारीमा थिए । श्रीमान्-श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरी प्रधान कार्यालयमा पठाएको थियो ।
ढोका बन्द भएर उड्न लागेका बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेको हो । प्रवक्ता खड्काका अनुसार जहाज उड्न कम्तीमा २ घण्टा लाग्नेछ । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने उनले बताइन् ।
काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।






