Logo

मुलुकको अबको आवश्यकता आर्थिक समृद्धि: राष्ट्रपति



काभ्रे, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति भएको बताएका छन् ।

बृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

“गरिबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु”, राष्ट्रपति पौडेलले भने ।

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनले स्पष्ट पारेका थिए ।

“मुलत: कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औद्योगीकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौं, जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।

उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवर्द्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्