काठमाडौँ, २८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको आर्थिक विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्ने बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले स्थापना गरेको रु एक करोड राशिको ‘भवन-कीर्तिरत्न’ सम्मान कार्यक्रममा उहाँले युवा वैज्ञानिकलाई अनुसन्धानमा प्रोत्साहन गर्नुपर्ने बताए ।
“उद्यमशीलता विकासका लागि अविष्कार केन्द्र खोल्नुपर्छ, अनुसन्धान केन्द्र खोलेमात्र उद्यमशीलताको विकास भई देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्छ”, उनले भने । उनले सरकारले अनुसन्धानका लागि नाष्टको स्थापना गरे पनि उक्त संस्थाले आविष्कारको क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको गुनासो गरेका छन्।
मन्त्री पौडेलले धेरै सुन्दर मुलुक नेपालमा पर्यटनमार्फत आर्थिक विकास गर्न सकिने बताए । “नेपालको प्रकृति र पर्यटनलाई कसैले किन्न सक्दैन, यस क्षेत्रको भरपुर प्रयोग गरी देशले लाभ लिनुपर्छ”, उनले भने । उनले नेपालमा लगानी भित्र्याउन एनआरएनएलाई आग्रहसमेत गरेका थिए ।







