काठमाडौँ, १३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताएका छन् ।
गोरखा-काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उनकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि आफू गोरखा पुगेको बताए ।
“राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ”, उनले भने, “राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्नुपर्छ ।”
अध्यक्ष दाहालले आफूलाई गोरखाली जनताले दिएको विश्वास र जिम्मेवारी पूरा गर्ने सङ्कल्प गरे । उनले आगामी पाँच वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महसुस गर्ने गरी विकास गर्ने दाबी समेत गरेका थिए ।







