Logo

मुलुकको विकास र सुशासनका लागि एक हुनुपर्छ: राष्ट्रपति



सुनसरी, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिएका छन् ।

आजदेखि सुरु भएको १२ वर्षे कुम्भमेलाको उद्घाटन तथा उनको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गरेका हुन् ।

“जनता आफैँले बनाएको संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य मानेको छ”, उनले भने, “यो दर्शनलाई आत्मसात् गर्दै राजनीतिमा जो-जो जताजता भए पनि दिगो विकास, सुशासन र मुलुकको समृद्धिका लागि सबैको एउटै मूलमन्त्र र एउटै गठबन्धन हुन आवश्यक छ ।”

उनले कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

राष्ट्रपति पौडेलले धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नुभएको र बुद्ध, ईशा र हजरत महमदले पनि यही भनेको उल्लेख गर्दै वैदिक मन्त्र द्रष्टाहरूले हजार वर्षपहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधानबारे उल्लेख गरेको विचार व्यक्त गरेका थिए ।

“धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नु हो । बुद्ध, ईशा र हजरत महमदले यही भनेका हुन् । आर्य वैदिक सनातनीहरूले हजारौँ वर्ष पहिलेदेखि भन्दै आएको कुरा हो यो । वेदमा भनिएको छ, ‘ॐ द्यौ शान्तिरन्तरिक्ष: शान्ति: रापशान्ति:।।। इत्यादि’, राष्ट्रपति पौडेलले भने, “त्यो बेला आजको जस्तो जलवायु परिवर्तन भएको थिएन । सायद हाम्रो वरपरको वातावरण प्रदूषित भइसकेको थिएन । तैपनि वैदिक मन्त्र द्रष्टाहरूले हावा, पानी, माटो र वायुमण्डल एवं वनवृक्षहरू समेतको शान्तिको कामना गरे । त्यतिमात्र हैन विश्वदेवा शान्ति, ब्रह्म शान्तिसम्मको आराधना गरे । त्यसैले अबको युग वैदिक संस्कृतिको पुनरुत्थानको युग मान्दा र त्यो अनुसारको चिन्तन र आचरणमा चल्न सक्ने हो भने आजको जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कलहको समेत समाधान भेटिनेछ भन्ने मलाई लाग्छ ।”

उनले त्यतिमात्र नभएर पूर्वीय दर्शनले अभिप्रेरित गरेको सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीबीचको समभाव र एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पनि मूल लक्ष्य भएको पनि स्पष्ट पारेका थिए ।

उनले ऋषिमहर्षिहरूको तपोभूमि, देवदेवीहरूको क्रिडास्थली, एक पवित्र तीर्थस्थल बराहक्षेत्रको वक्षस्थलमा रहेको प्राचीन हरिद्वार चतराधामको पवित्र कुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभूति भएको उल्लेख गर्दै चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मात्र होइन विश्वकै चार पवित्र क्षेत्रमध्येको एक मानिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्