काठमाडौँ, ६ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई–मधेससँगै मुलुकभर नै एमालेप्रति अभूतपूर्वरुपले आकर्षण बढेको बताएका छन् ।
‘पहिला–पहिला हामीले कार्यक्रम आयोजना गर्दा ६०–७० प्रतिशत कार्यकर्ताको सहभागिता हुने गथ्र्यो,’ महासचिव पोखरेलले भने, ‘अहिले झण्डै शतप्रतिशत कार्यकर्ताको सहभागिता हुने गरेको छ । यो भनेको पार्टीप्रतिको आकर्षण कार्यकर्तादेखि जनस्तरको तहमा पनि बढेको छ भन्ने प्रमाण हो ।’
महासचिव पोख्रेलले विगतमा मुख्य गरेर तराई–मधेसको सन्दर्भमा एमालेलाई आइसोलेसनमा राख्ने प्रयासहरु भएको उल्लेख गरे । ‘अहिले ती ठाउँमा एमालेप्रति अभूतपूर्वरुपले आकर्षण बढेको छ,’ उनले भने, ‘निर्वाचित जनप्रतिनिधि समेत अहिले दल छाडेर एमालेको पक्षमा उभिन थाल्नुभएको छ । त्यो आकर्षण त्यसै पैदा भएको होइन । हाम्रो पार्टी अध्यक्षको नेतृत्वको सरकार रहेका बेला तराई–मधेसका समस्या समाधान गर्ने सन्दर्भमा हामी जुन प्रकारको नीति अवलम्बन गर्यौँ । त्यसको प्रभाव हो भन्ने बुझ्न जरुरी छ ।’
उनले कुनै समय आध्यक्ष केपी शर्मा ओली र नेकपा (एमाले)लाई तराई–मधेसमा निषेधको राजनीति गर्ने प्रयास भएको भन्दै एमालेले त्यसलाई तोड्दै सहकार्यको राजनीति अवलम्बन गरेर त्यसको जवाफ दिएको बताए । ‘संविधानप्रति नै असहमति व्यक्त गर्दै आउनु भएका उपेन्द्र यादव, महन्थ ठाकुरहरुलाई हामीले तपाईँहरुका मुद्धा सम्वोधन गर्ने हामीले नै हो भनेर सरकारमा सहभागी गरायौँ र सम्बोधन गर्न सुरुवात पनि गर्यौँ,’ उनले भने, ‘मूलधारको राजनीति भन्दा बाहिरको राजनीति गरिरहेकाहरुलाई पनि हामीले मूलधारको राजनीतिमा ल्याउने कामको थालनी गर्यौँ ।’
विखण्डनको राजनीतिक एजेण्डा बोकेर हिडेको सिके राउत समूहलाई संवैधानिक दायरा अर्थात मूलधारको राजनीतिमा ल्याउन सफल भएको दृष्टान्त उनले बताए । ‘हिंसालाई राजनीतिको माध्ययम बनाइरहेको विप्लव समूहलाई पनि मूलधारको राजनीतिमा ल्याउन सफल भयौँ,’ उनले भने, ‘परम्परागत राजतन्त्रको पक्षमा उभिँएको राप्रपा नेपालका नेता कमल थापालाई पनि हामीले गणतन्त्रको धारमा ल्याउन सफल भयौँ । यो प्रकारको सफलता नेकपा (एमाले) को विकास हो भन्ने कुराको पुष्टि गर्छ । हामी सरकारमा रहेका बेलामा होस या नरहेका बेला मुलुकका समस्या समाधानको पहलकदमी लिने पार्टी नेकपा एमाले मात्रै हो भन्ने पुष्टि गरेका छौँ । यो आकर्षण तराई–मधेसका जनतामा पनि रह्र्यो भन्ने हामीले ठानेका छौँ ।’
महासचिव पोख्रेलले तराई–मधेसको विकास र समृद्धिका सन्दर्भमा एमालेले अघि सारेका विकासका आयोजनाले पनि एमालेप्रतिको आकर्षण बढेको प्रष्ट पारे ।