काठमाडौँ, १२ वैशाख । माओवादी केन्द्रले ६० प्रतिशत पालिकामा गठबन्धन भएको दाबी गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार पत्रकार सम्मेलन गर्दै मुलुकभर ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएको बताए ।
गठबन्धनका दलहरूले एकअर्काविरुद्ध उम्मेदवारी दिएका स्थानीय तहमा उम्मेदवारी फिर्ता लिने दिन तथा मतदानको अघिल्लो दिनसम्म पनि मेलमिलापतको प्रयास जारी रहने महराले बताए । ‘आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा ६० प्रतिशत पालिकामा गठबन्धन गर्न सफल भएका छौं । बाँकी केहीमा अलिकति मिलेको छैन । पार्टीभित्र पनि मिलेको छैन, पार्टी-पार्टीको बीचमा पनि मिलेको छ । केही प्रक्रिया जारी छ । यो मिल्ने क्रम बेलुकीसम्म चल्नेछ,’ उनले भने, ‘मनोनयन फिर्ताको कार्यक्रम १६ मा छ, मतदानको अघिल्लो दिन २९ सम्म एकले अर्कोलाई सहयोग गर्ने भन्ने प्रयास भइरहन्छ । अहिले पनि मिल्ने क्रम जारी रहेको भन्ने खबर छ ।’
सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचनमा सफल भएको दाबी गर्दै महराले संघीय निर्वाचन सम्म नै वर्तमानमा साथमा आएका दलहरू मिलेर जाने बताए ।
सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने पनि उनको भनाइ थियो । केही ठाउँमा कांग्रेसले एमालेसँग गठबन्धन गरेको भन्ने अनौपचारिक खबर आएको भन्दै महराले गठबन्धनभित्र भएको निर्णय कांग्रेसलाई पनि लागु हुने बताए । सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका थिए ।
भरतपुरमा कांग्रेसका पूर्वसांसदले मेयरमा उम्मेदवारी दिने घोषणा गरेको भन्ने जानकारी आएको जानकारी गराउँदै महराले भने, ‘भरतपुरमा उम्मेदवारी दिने कांग्रेसका पूर्वसांसदले पुनर्विचार गर्नुहुन्छ ।’