नेपालगन्ज, १३ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् ।
शनिबार नेपालगन्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले मुलुक बनाउने भिजन एमालेसँग मात्र रहेको जिकिर गरेका थिए । एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरू कुनै पार्टीसँग नरहेको उनको भनाइ छ ।
एमाले ‘मिसन ८४’ मा केन्द्रित रहेको भन्दै अध्यक्ष ओलीले यसलाई सफल बनाउँदै पार्टीको बहुमत आउने गरी तयारी गर्न नेता-कार्यकर्तालाई निर्देशन दिए ।
आउँदो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने उनले दोहोर्याए । एमालेको नीतिसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने योजना उनले सुनाएका थिए ।
अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भन्दै उनले सक्रिय र सतर्कतासाथ योजनाबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए ।







