Logo

मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ: डा.वाग्ले



तनहुँ, १३ माघ । सांसद डा.स्वर्णिम वाग्लेले मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको समेत जिम्मेवारीमा रहेका तनहुँ-१ का सांसद वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताएका हुन् ।

आज तनहुँ उद्योग वाणिज्य सङ्घको १७औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदस्थापन कार्यक्रममा उनले भने, “सधैँ निराशाका कुरा गरेर मात्र हुँदैन । मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ ।”

डा.वाग्लेले राजनीतिलाई सङ्ल्याउँदै विकृति र विसङ्गति हटाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । त्यसका लागि राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

रास्वपाले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै डा.वाग्लेले रास्वपा अब सदन र सडक दुवैमा क्रियाशील हुने उल्लेख गरेका थिए । उनले भने, “हामी संसद्मा विभिन्न विधेयक दर्ता गर्छौँ तर अहिलेको प्रणालीले बहुमतका आधारमा ती विधेयक फेल हुने गरेका छन् । त्यस्ता विधेयकहरू जनताका माझ लगेर यो ठीक छ वा छैन भनेर सोध्छौँ ।”

डा.वाग्लेले देशभरका अलपत्र विकास योजनामा पनि पार्टीले खबरदारी गर्ने नीति लिएको जानकारी दिए । अर्थतन्त्रलाई सही मार्गमा ल्याउनुपर्ने आवश्यकतामाथि चर्चा गर्दै वाग्लेले भने, “सार्वजनिक खर्चमा देखिएको शिथिलतालाई समाधान गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्