काठमाडौँ, ३१ जेठ । मनसुनी प्रणालीको प्रभाव रहेका प्रदेशहरूमा रातभर चट्याङ्गसहित भारी वर्षा भएको छ ।
हाल प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति सबैभन्दा बढी गण्डकी प्रदेशमा ६७ मिलिमिटर वर्षा भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।
त्यस्तै बिहान प्रदेश १ को तराई र मधेसको पूर्वी भू-भागहरुमा वर्षा भइरहेको छ । समग्रमा आज दिउँसो र राति देशभर पूर्ण बदली रहि अधिकांश स्थानहरुमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् सापकोटाको भनाइ छ ।