Logo

मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका दुई दाजुभाइको ज्यान गयो



काठमाडौं, २३ माघ । भारतको मेघालय राज्यमा रहेको कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका दुई जना नेपाली युवाको मृत्यु भएको छ। बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका २४ वर्षीय भाइ सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै ज्यान गएको हो।

बिहीबार मेघालयको उम्साङघाट क्षेत्रमा सञ्चालित कोइलाखानीमा अचानक विस्फोट हुँदा उनीहरू गम्भीर घाइते भएका थिए। स्थानीयका अनुसार विस्फोट यति शक्तिशाली थियो कि घटनास्थलमै दुवैको मृत्यु भयो।

मृतक दाजुभाइ खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा हुन्। सोही खानीमा काम गरिरहेका बराहपोखरीका चार जना र उदयपुरका एक जना गरी पाँच नेपाली कामदार घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

खानीमा काम गर्न पुगेका सात जनामध्ये ताराबल मगर भने सकुशल रहेको जानकारी प्राप्त भएको छ। विस्फोटपछिको अवस्थाबारे ताराबलले फोनमार्फत आफन्तलाई जानकारी गराएका थिए। घाइतेहरूलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ।

रोजगारीका लागि गत पुस ३ गते मेघालय पुगेका यी युवाहरू डेढ महिना नबित्दै दुर्घटनामा परेपछि परिवार शोकमा डुबेको छ। मृतकमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त विस्फोटमा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्