Logo

मेचिनगरमा चासोक तङ्गनाम–उधौली पर्व भव्य रूपमा सम्पन्न



झापा, २१ मंसिर । श्री किरातेश्वर मुजोत्लुङ्ग युमा माङ्गहिम, मेचिनगर–१० चारआलीले किरात समुदायको महान् पर्व चासोक तङ्गनाम तथा उधौली २०८२ विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। मंसिर १८ देखि २० गतेसम्म चलेको तीनदिने कार्यक्रममा त्येअङ्ग्सी सिरिजङ्गा दोस्रोको ३२२ औँ जन्मजयन्ती समेत विशेष रूपमा मनाइएको थियो।

कार्यक्रमअन्तर्गत माङ्ग्लाक साङ्गसेवा, कुवेसुस्मा, के:लाङ्ग प्रतियोगिता, पालाप–हाकपारे, छेलो हान्ने (पकलुङ), डोरी तान्ने, फ्रकजम, म्युजिकल चियर लगायतका विविध सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधि सम्पन्न गरियो।

किरात यायोखा चुम्लुङ्ग झापाका अध्यक्ष सेसेहाङ फियाकले किरात समुदाय फरक–फरक समूह र जातजातिमा विभाजित देखिए पनि सबैलाई एकतामा बाँधिनुपर्ने आवश्यकता औँल्याए। किराती सभ्यताको पुनरुत्थानमा धर्मगुरु फागुनन्द, हिमानसिंह चेम्जुङ्ग र सिरिजङ्गाको भूमिकाप्रति सचेतना फैलाउनुपर्ने उनले बताए।

कार्यक्रमकी प्रमुख अतिथि, संघीय संसदकी उपसभामुख इन्दिरा रानाले जनजातिहरूको भाषा तथा लिपिलाई स्थानीय तहमा राष्ट्रिय भाषाका रूपमा मान्यता दिइनु सकारात्मक भएको बताएँ । उनले किरात भाषालाई पनि राष्ट्रिय भाषाको मान्यता दिन सके अझ उपयुक्त हुने भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

विविध किरात संघ–संस्थाको सयौँ उपस्थितिमा सम्पन्न कार्यक्रममा खेल, नृत्य तथा सांस्कृतिक गतिविधिमा सहभागीलाई पुरस्कार वितरण गरिएको थियो।

माङ्गहिमका अध्यक्ष अर्जुन थेबेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष हर्कजङ ब्युहिमले तथा सहजीकरण महासचिव गौरव लिम्बुले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्