मेचीनगर, ६ वैशाख । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका-८ स्थित गरामनी बस्ने २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका-७ तेह्रथुम घर भई विर्तामोड-८ बस्ने २७ बर्षीय धनबीर बराल रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।