झापा, १० असार । नेपाल सरकारको संस्थागत विद्यालय संचालन मापदण्ड तथा निर्देशिका २०६९ बिपरित नेचीनगर नगरपालिका वडा नम्बर १२ चारआलीमा आइडियल अंग्रेजी स्कूल संचालनको तयारी छ ।
संघीय सरकारले तयार गरेको निर्देशिका अनुसार नगरपालिकाले एउटा वडामा बढीमा तीन वटा मात्र माध्यमिक तहको विद्यालय संचालनको अनुमति दिन सक्ने व्यवस्था गरेको छ ।
नगरपालिकाको वडा नम्बर १२ मा तीन वटा विद्यालय संचालनमा रहेको अवस्थामा दन्तकाली इङ्लिस स्कूलले नाम परिवर्तन गरी आइडियल अंग्रेजी स्कूल नियम विपरित संचालनको तयारी गरेको हो ।
मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले विद्यालयले अनुमति पाउन नसक्ने बताए । उनले संघीय सरकारले तयार गरेको निर्देशिका बिपरित विद्यालय स्थान्तरण भएकाले अनुमति पाउन नसक्ने बताए ।
मेचीनगरको वडा नम्बर १२ मा माध्यमिक तहको युनिक इङलिस बोर्डिङ स्कूल, दुर्गा अंग्रेजी आवाशिय मावि र माउण्ट पोइन्ट इङलिस वोर्डिङ स्कूलले निर्देशिका विपरित आइडियल अंग्रेजी स्कूलका स्थान्तरण भएको भन्दै नगरपालिका शिक्षा शाखामा उजुरी दिएका छन् । अन्य स्कूलले गरेको उजुरीका आधारमा नगरपालिकाले निर्देशिकाका विपरित विद्यालय संचालन नगर्न निर्देशन दिएको हो ।
मेचीनगर शिक्षा शाखाले बैसाख २१ गते आइडियल स्कूललाई विद्यार्थी भर्ना तथा संचालन नगर्न र दन्तकाली स्कूल स्तान्तरण नभएको व्यहोराको निर्देशन दिएको छ । तर, विद्यालय विद्यार्थी भर्नाका लागि विज्ञापन गर्न पर्चा छापेर तयारी अवस्थामा छ ।
आइडियल अंग्रेजी स्कूलले चारआली स्थित सब्जीमण्डी छेउमा भव्य भौतिक संरचना निर्माण गरेको छ । विद्यालयले १ बिगाह ६ कठ्ठा क्षेत्रफलमा सुमिङ पुल, खेलकुद मैदानसहितको भौतिक संरचना तयार गरेको छ ।
विद्यालयका भौतिक संरचना तयार भएपछि भने नगरपालिकाले संचालनको अनुमति नदिने भनेपछि विद्यालयको भविश्य अन्योलमा परेको हो । कोरोना पछि विद्यालय संचालन हुँदाका अवस्थामा पुराना विद्यार्थीको पठनपाठन नै अवरोध हुने अवस्था आएको छ ।
विद्यालयका संचालक गणेश काफ्लेले मेचीनगरको वडा नम्बर १० बाट स्थान्तरणको अनुमति र वडा नम्बर १२ ले संचालनको सिफारिस गरेका आधारमा विद्यालयको भौतिक संरचना तयार भएको बताए । उनले अनुमति लिएर स्तान्तरण गरिएपनि अन्य विद्यालयको उजुरीका आधारमा नगरपालिकाले अवरोध सिर्जना गरेको प्रतिक्रिया दिए ।
उनले नगरपालिकाले प्रारम्भिक अनुमति दिएका आधारमा लगभग ३ करोडको लागतमा विद्यालय स्थान्तरण गरिएको बताए । उनले भने, यति लगानी गरेपछि, नगरपालिकाले अनुमति नदिए अदालत जान्छौं ।