Logo

प्रथम प्यारीभिट्टा महोत्सव सुरु



मेचीनगर, ५ चैत । लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना जगाउँदै युवाहरुलाई समाज परिवर्तनमा सक्रिय बनाउने उद्देश्यका साथ मेचीनगरमा आजबाट ‘प्रथम प्यारीभिट्टा महोत्सव’ सुरु भएको छ ।

आज एक भव्य कार्यक्रमकाबीच कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले महोत्सवको उद्घाटन गरेका हुन् । मेचीनगर-७ स्थित नयाँ बसपार्क उत्तर पट्टिको प्लटिङमा सुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन हुनेछ ।

समाजमा जरा गाडेर विद्यामान अवस्थालाई विकराल बनाइरहेको लागुऔषध जस्तो विकृतिलाई युवाहरुबाट छुटाउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

‘महोत्सवमा जुवा तास, डाइस, लकि सेभेन जस्ता खेल निषेध गर्नुका साथै लागुऔषध विरुद्ध सचेतना जगाउने विभिन्न संघसंस्थासंग समन्वय गरेर महोत्सवलाई ज्ञान बाँड्ने ठाउँ बनाउने प्रयास गरेको प्यारीभिट्टा युवा क्लबका अध्यक्ष मुक्तीनाथ काफ्लेले बताए ।

मेचीनगर क्षेत्रमै युवाहरुको आयोजनामा यस किसिमको सचेतनामुलक महोत्सव आयोजना भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद तामाङले खुशी व्यक्त गरेका थिए । शुभकामना मन्तव्य राख्दै उनले महोत्सव सफलताका लागि आफ्नो तर्फबाट हरपल सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

उक्त कार्यक्रममा मेचीनगर-७ का वडाध्यक्ष प्रह्लादमणी ओली, लागुऔषध नियन्त्रणका लागि सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो ।

आयोजक समितिका संयोजक चन्दन गौतमले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सुमन शर्माले गरेका थिए ।

आजबाट सुरु भएको महोत्सवमा राष्ट्रिय स्तरका ख्यतिप्राप्त दजर्नौ कलाकारहरुले प्रस्तुती दिनेछन् । महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, ड्रागन लगायतका विभिन्न खेल सामाग्रीहरु पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्