मेचीनगर, ३ जेष्ठ । झापाको मेचीनगर नगरपालिकामा मत गणनाको आधिकारिक जानकारीका लागी गणनास्थल परिसरमा सुचना डेक्सको व्यवस्था नहुँदा सञ्चारकर्मीहरुलाई सुचना संकलनमा असहज भएको छ । जसका कारण जनताले मेचीनगरको मत परिणाम कस्तो आउँदै छ भन्ने जानकारी पाउन सहज रुपमा सकिरहेका छैनन् ।
नगरपालिकाको प्राङ्गणमा एलइडि टिभिको व्यवस्था गरिएता पनि बेलुकी ५ बजे बितिसक्दा पनि विहान ७ बजेको मतपरिणाम यथावत भएकाले स्थानीयको गुनासो अधिक रहेको देखिन्छ ।
न कुनै सुचना संयन्त्र, न कुनै समन्वय । निर्वाचन अधिकृत वेदराज फुयाललाई पत्रकारहरुले पटक पटक आग्रह गरिरहँदा पनि अटेरीपन देखाउँदै आफू पन्छिएको मेचिनगर प्रेस क्लवका सदस्य उमेश खतिवडाले बताए ।
मतगणनाको सुचना पाउनुपर्ने हरेक जनताको अधिकार हो तर मेचीनगरको मत गणना क्षेत्रमा सुचना डेक्स अथवा मत गणनाको जानकारी दिने कुनै संयन्त्र नहुँदा सुचना प्रवाहमा समस्या भएको छ । साथै जनताहरु मतगणनाको जानकारी पाउनबाट बञ्चित भएका छन् ।
मतगणनास्थल सम्वेदनशिल भएका कारण त्यहाँ पत्रकार जान नदिनु स्वभाविक हो तर निर्वाचन कार्यालयले सुचना दिने व्यवस्था समेत गरेको छैन । नगरपालिकाको मुख्य गेट अगाडी बसिरहेका जनताका लागी माईकिङ गरिन्छ तर त्यो तीन देखी चार घण्टाको अन्तरालमा पनि बल्ल जानकारी दिईन्छ, कहिले त्यो पनि छैन ।
पत्रकारहरुले भित्र गणनामा खटिएका राजनितिकि दलका प्रतिनिधिहरु बाहिर निस्कदा मात्रै कसैकसैबाट जानकारी पाउने गरेको मेचीनगर प्रेस क्लबका कोषाध्यक्ष रिता दाहालले बताइन ।
मेचीनगरको मतगणनाको ताजा अपडेटका लागी सुचना दिने व्यवस्था मिलाउनुपर्ने पत्रकारहरुले माग गरेका छन् । निर्वाचन कार्यालयको व्यवस्थापन फितलो भएको कारणले गर्दा मेचीनगरका जनताहरु सुचनाको अधिकारबाट बन्चित भएका छन् ।