
झापा, २ जेष्ठ । भारतबाट प्रवेश गरेको जङ्गली हात्तीले आक्रमण गर्दा मेचीनगर-९ का ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकका अनुसार आज अपराह्न ३:४५ बजे किसानलाई स्थानीय टिमाई खोलाको बगरमा हिँडिरहेको बेला हात्तीले आक्रमण गरेर सख्त घाइते बनाएको थियो । उपचारका लागि मेची अञ्चल अस्पतालमा लगिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सोही वडाकी ३८ वर्षीया वसन्ती दनुवार आज अपराह्न १ बजेतिर स्थानीय थोप्ले बिरान सामुदायिक वनमा घाँस काट्न जाँदा हात्तीको आक्रमणबाट घाइते भएकी छन् । पेट र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी हस्पिटल लगिएको छ ।
शनिबार राति झापाको उत्तरी सीमावर्ती क्षेत्र बाहुनडाँगीमा भारतबाट १५ वटा जङ्गली हात्ती छावासहित पसेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिए । तिनै हात्ती छरिएर झापाको विभिन्न सामुदायिक वनतिर पसेको अनुमान गरिएको छ ।







