Logo

मेचीनगर प्रमुख-उपप्रमुखको पद बहाली, यस्तो छ पहिलो निर्णय



झापा, १३ जेष्ठ । मेचीनगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पद बहाली गरेका छन् ।

नगरप्रमुख बुढाथोकीले बिहीबार कार्यकक्षमा पुगेर पद बहाली गरेका हुन् । नगरका प्रमुख प्रशासकिय अधिकृत सुरेश दाहालले नगरप्रमुखलाई पद बहाली गराएक थिए ।

त्यस्तै उपप्रमुख मिना पोखरेल उप्रेतीले पनि बिहीबारै पद बहाली गरेकी छन् ।

नगरप्रमुख र उपप्रमुखको पद बहालीसंगै नगरकार्यपालिकाको पहिलो बैठक समेत सम्पन्न भएको छ । पहिलो बैठक मार्फत ९ वटा निर्णयहरु गरेर कार्यपालिकाको बैठक सम्पन्न भएको नगरप्रमुख बुढाथोकीले बताए ।

यी हुन नगर कार्यपालिकाको निर्णयहरु :

१. मेचीनगर नगरपालिकाको आगामी पाँच बर्षको योजना तथा कार्यक्रम व्यवस्थीत एवं प्रभावकारी रुपमा कार्यान्वयन गर्न एकीकृत शहरी विकास योजना तयार गर्ने ।

२. नगरबासीहरुलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन चालु आ.ब १०७८/०७९  भित्रमा ४ वटा स्थानमा प्रयोगशाला सहितको स्वास्थ्य सेवा केन्द्रहरु संचालनको व्यवस्था मिलाउने ।

३. आगामी आ.व २०७९/०८० भित्रमा मेचीनगर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने आवास विहिन अति सिमान्तकृत जाति समुदायको २५ घर परिवार पहिचान गरी आवासको लागि आवश्यक पर्ने कार्यविधि तयार गरी आवास कार्यक्रम कार्यान्वयन गर्ने ।

४. विश्व वातावरण दिवस, जुन ५, २०२२ भव्यताका साथ सम्पन्न गर्न सबै वडाहरुमा सरसफाई एवं वातावरणीय सचेतना कार्यक्रम संचालन गर्ने ।

५. नगरको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउन सहकारी संस्थाहरुसंग आवश्यक समन्वय र सहकार्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने ।

६. नगर क्षेत्रभित्र रहेका संगठित, असंगठित मजदुरहरुको स्वीकृत मजदुर पञ्जीकरण कार्यविधि अनुसार सुचिकृत गरी मजदुरहरुको स्वास्थ्य एवं जोखिम विमा गर्ने कार्यलाई आगामी आ.व २०७९/०८०  भित्रमा कार्यान्वयन गर्ने ।

७. नगर क्षेत्रभित्र विद्यालय जाने उमेर(५-१२) समूहका हालसम्म विद्यालयमा भर्ना हुन नसकेका  वालवालिकाहरुको पहिचान गरी आधारभूत तहको शिक्षाको पहुँचमा ल्याउने ।

८. नगरपालिकाबाट प्रवाह हुने सेवा प्रवाहलाई अझ बढी व्यवस्थित एवं प्रभावकारी बनाई शुसाशनको प्रत्याभुति गराउन प्रतिबद्धता व्यक्त गर्ने ।

९. स्थानीय तह निर्वाचन २०७९ मा सक्रिय सहभागिता जनाई सफलता पुर्वक सम्पन्न गरी निर्वाचन गराउन सहयोग पुर्याउनु हुने निर्वाचन अधिकृत, निर्वाचन आयोगको कार्यालय, सम्पूर्ण राजनितिक दलहरु, प्रत्यासी उम्मेद्वारहरु, संघ संस्था, प्रहरी प्रशासन, राष्ट्रसेवक कर्मचारी, सम्पूर्ण सञ्चारकर्मी मित्रहरु एवं नगरबासीहरुमा धन्यवाद ज्ञापन गर्ने ।

प्रतिक्रिया दिनुहोस्